CovidSuchana

अपाङ्गता भएका व्यक्तिलाई घरमै भ्याक्सिन दिए हुन्थ्यो -रिना कुमारी माझी,सर्लाही

 

 

 

 

 

 

रिना कुमारी माझी,सर्लाही

मेरो नाम रिना कुमारी माझी हो । म २० वर्षकी भएँ । मेरो घर सर्लाही ईश्वरपुर नगरपालिका वडा नम्बर १५ बहगर्वा टोल मुसहर बस्तीमा हो । मेरो परिवारमा ५ जना सदस्यहरु छन् । म जन्मैदेखि शारीरिकरुपमा अपाङ्ग छु । खुट्टाले हिँड्न सक्दिनँ त्यसैले मलाई मेरो सबै काममा आमाले सहयोग गर्नुहुन्छ ।
मेरो परिवारको आर्थिक अवस्था निकै कमजोर छ । जग्गा जमिन छैन । मेरो आमाबुवा ज्याला मजदुरीको काम गर्नुहुन्छ । कोरोना भाइरसको महामारीले मेरो परिवारलाई निकै कठिन अवस्थामा पु¥यायो । कोरोनाबाट बच्नको लागि म पनि मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुन पानीले हात धुने गर्थेँ । केही दिन सबै गरेँ तर घरको अवस्थाले गर्दा केही गर्न मन लागेन । गरिबीको कारणले पढ्न पनि सकिनँ । परिवारको आर्थिक अवस्था धेरै नाजुक भएकोले आमाबुवाले उपचार गराउन लैजान सक्नु भएन।
म गरिब, दलित र अपाङ्ग भएको कारणले केही गर्न सकिरहेको छैन । सरकारबाट पनि केही सहयोग पाएको छैन । म आफ्नो परिवारको लागि केहि गर्न चाहन्छु तर सक्दिन । अझ कोभिडको कारणले मेरो आमाबुवाले त्यति बेला काम पनि पाउनु भएन । काम नपाउँदा घरमै बस्नुपर्ने अवस्था आयो । आमाबुबा अर्काको घरमा काम गर्ने मान्छे तर यो लकडाउनले गर्दा धेरै समस्या भयो । आफ्नो परिवारको अवस्था देखेर साह्रै दुःख लाग्छ । आफू आत्मनिर्भर हुनुपर्छ भन्ने थाहा छ तर उपाय भेटिरहेको छैन ।
अहिले कोरानाको विरुद्धको भ्याक्सिन आइसकेको छ तर हाम्रा ठाउँमा कसैले पनि लगाउन पाएको छैन । यो भ्याक्सिनलगाउन म जस्ता अपाङ्गता भएको तथा अन्य विभिन्न किसिमका रोगहरुबाट पीडितहरुलाई पनि लगाउने व्यवस्था गरिदए राम्रो हुन्थ्यो । म जस्ता अपाङ्गता भएका व्यक्तिहरुलाई घरघरमै गएर भ्याक्सिन लगाउन स्थानीय सरकारले पहल गरेमा हामी आभारी हुने थियौँ ।