पुजा जयसवाल, रौतहट
म अहिले गौर नगरपालिकामा बस्छु । मैले ग्रामीण विकास केन्द्र (आरडीसी), नेपालमा काम गर्छु । मैले आरडीसीमा काम गर्न थालेको १० वर्ष भयो । गत वर्ष काम गर्दा गर्दै कोरोनाभाइरसको महामारीले गर्दा देशमा लकडाउन शुरु भयो । मसँगै काम गर्ने साथीहरु धेरै जसो आफ्नो घरमै बसेर काम गरिरहेका थिए । तर म भने भाडाको घरमा बस्थेँ । म कामबाट फर्किँदा म बस्ने घरको अरु सबै जना मैले कोरोना सार्छ कि भनेर मसँग डराउँथे । यसो हुँदा मनमा नरमाइलो लाग्थ्यो र निरीह महसुस हुन्थ्यो । तर छिट्टै मेरो पनि घरै बसेर अनलाइनबाट र फोनको माध्यमले काम गर्ने भन्ने सूचना आयो । त्यसपछि त मलाई धेरै नै सजिलो भयो ।
३/४ महिनापछि लकडाउन अलि खुकुलो भएपछि फेरि काममा जानुपर्ने भयो । त्यतिबेला घरबेटीको हेला र कचकचले धेरै तनाव भयो । हामीसँगै घर भाडामा एकजना नर्स पनि बस्नुहुन्थ्यो । उहाँलाई पनि घरबेटीबाट धेरै तनाव थियो ।
विस्तारै लकडाउन खुकुलो हुन थाल्यो । म फेरि पहिलेको जस्तै काममा जान थालेँ । लकडाउनको बेला धेरै महिला हिंसा र बालविवाहको घटनाहरु भए । यसको विरुद्धमा हामीले निरन्तर काम गरिरह्यौं । त्यस्तै कति जनाले आत्महत्या पनि गरे । म मेहनत साथ आफूले सकेसम्म काममा लागिरहेको थिएँ । कुनै कार्यक्षेत्रमा जाँदा डुङ्गा चढेर पनि जानुपथ्र्यो । घर फर्किँदा साँझ हुन्थ्यो । कहिले त राती नै हुन्थ्यो । मेरो यस्तो दुःख देखेर कहिलेकाहीँ त आमाले छोरी काम गर्नुपर्दैन पनि भन्नुहुन्थ्यो । तर महिला र बालबालिकामाथि हिंसाका घटना बढिरहेकाले काम गर्नुपर्छ, यस्तो बेलामा कसरी छोड्नु भनेर म आमालाई नै सम्झाउँथे । हाम्रो ७ जनाको परिवार छ । लकडाउन हाम्रो लागि नयाँ र पहिलो अनुभव थियो ।
२०२१ अप्रिलमा मेरो परियोजनाको अवधि पनि सकियो । मैले आमाले भने जस्तै काम पनि छोडेँ । त्यति नै बेला कोरानाको दोस्रो लहर पनि सुरु भयो । अहिले म घरबाटै द स्टोरी किचेनको सामाजिक परिचालकको रुपमा कार्यरत छु र घरमा नै बसेर काम गरिरहेको छु । घरमा बस्दा नयाँनयाँ खानाका परिकारहरु पनि बनाउन सिक्दैछु । यसरी नै आफ्नो परिवारसँगै समय बिताइरहेको छु ।