CovidSuchana

फरक पहिचान भएकै कारण स्वास्थ्य सेवा नपाउँदा दुःख लाग्छ

राजु चौधरी, कैलाली

म मेरो आमाबुवाकोे फरक यौनिकता भएकोे तेस्रो सन्तान हुँ । फरक यौनिकता भएर जन्मेकै कारण मलाई समाजले हेर्ने दृष्टिकोण फरक थियो । खुलेर हिँडडुल गर्न र आफ्नो पहिचान खुलाउन गाहे भएको थियो । बाटोमा मान्छेहरुले जिस्क्याउने, कुरा काट्ने, हेप्ने गर्नुहुन्थ्यो । शुरुशुरुमा धेरै गाहे हुन्थ्यो । तर विस्तारै यस्तै जन्मेँ, यस्तै जिउँछु भनेर आफूले आफूलाई स्वीकार गरेँ । अहिले म लैङ्गिक तथा यौनिक अल्पसंख्यकको समुदायको यौन स्वास्थ्य र मानव अधिकारको वकालत गर्दै आइरहेको छु । यो काम मैले सन् २०१० देखि गर्दै आएको छु ।
मैले पहिलो पटक रेडियो कार्यक्रम ‘पहिचान’ चलाएँ । यो रेडियो कार्यक्रमबाटै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको मुद्दा साथीहरुलाई बुझाउन पाएकोमा खुशी लाग्थ्यो । घर, परिवार र समाजबाट विभेद भोगिरहेका यो समुदायका साथीहरुलाई संगठित गर्न सकेकोमा गर्व लाग्छ ।
२०७६ साल चैत ११ लकडाउनको एक दिन अगाडि म घर गएको थिएँ । धनगढीबाट मेरो घर पुग्नलाई दुई अढाई घण्टाको समय लाग्थ्यो । गाडीमा सबै भारतबाट फर्किएका व्यक्तिहरु थिए । म पनि डराइडराइ त्यही गाडीमा घर गएँ । गाउँमा पुग्दा सबै छिमेकीहरुले कोरोना ल्यायो भनेर छी छी र दुरदुर गर्न थाले । घर गएको पाँच दिनपछि मलाई घाँटी दुख्ने, छाती दुख्ने समस्या भयो । औषधीले पनि मेरो घाँटी दुख्ने छाती दुख्ने समस्या ठीक नभएको हुँदा घरमा सबै परिवारमा त्रास फैलिएको थियो । छरछिमेकीको व्यवहारले गर्दा मेरो मानसिक तनाव बढ्दै गयो । तर पछि सबै सामान्य नै भयो ।
अहिले दोस्रो लहरको कोरोनाको महामारीमा म कोठामै मेरो पार्टनरसँगै बसेको छु । दुर्घटनामा परेर केही स्वास्थ्य समस्या भइरहेकाले पहिलो चरणको कोरोनामा जस्तो डिप्रेसन नहोस् भनेर बिहान नियमित व्यायाम र योग गर्न थालेको छु । नियमित तातो पानी पिउने तथा आफ्नो स्वःहेरचाहमा ध्यान दिन थालेको छु । गीत सङ्गीत सुनेर पनि आनन्द लिन थालेको छु । परिवारसँग फोनमा कुरा हुन्छ । मेरो अग्रज दिदीहरुले पनि फोन गरेर सम्झाउने बुझाउने गर्नुहुन्छ । कोरोना महामारीबाट धेरै सिकाइ भएको छ । पहिला एक्लै बस्दा छटपटी हुने म अहिले एक्लै बस्ने भएको छु । आफ्नो समस्याको पहिचान गर्न सक्ने भएको छु ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका साथीहरुलाई कोरोना सङ्क्रमण भएपछि अक्सिजनको अभावले मृत्यु भएको खबरले मनमा डर, चिन्ता लागेको थियो । हाम्रो समूहका सबै व्यक्तिले स्वास्थ्य सेवाहरु सजिलै पाउनका लागि संविधानको अधिकार कार्यान्वयनको सुनिश्चितता गरियोस् । फरक पहिचानकै आधारमा कोही पनि व्यक्तिको उपचार नपाएर मृत्यु हुने अवस्था नहोस् ।