CovidSuchana

बन्दाबन्दीमा महिला हिंसा बढ्ने रहेछ -गीता खनाल, धादिङ

म अहिले नीलकण्ठ नगरपालिका वडा नं १२ मा बस्छु । म ३० वर्षको भएँ, मसँग दुई जना छोराछोरी छन् । म एकल महिला हुँ । म अहिले सहयात्री समाज नेपाल, धादिङको अध्यक्ष पदमा रहेर काम गरिरहेको छु ।
अहिले संसारमा सबैलाई कोभिड महामारीले असर पारिरहेको छ । मेरो जीवनमा पनि कोरोनाभाइरसले ठुलो उतारचढाव ल्याएको छ । पहिलो त म एकल महिला भएको कारणले एक्लो कमाइले घर व्यवहार चलाउने, बालबच्चा पढाउने र हुर्काउने जिम्मेवारी पुरै मेरै हो । नेपालमा कारोना महामारी फैलिनुभन्दा ५/६ महिना अघि मात्र आफूसँग भएको अलिकति बचत र नपुगेको पैसा बैंकबाट ऋण लिएर फेन्सी पसल खोलेको थिएँ । महामारी र लकडाउनसँगै पसल चल्न सकेन । बैंकको किस्ता र कोठा भाडा तिर्न नसकेर आफ्नो लागेको लागतभन्दा पनि कम मुल्यमा पसल बेच्नु पर्यो ।
त्यसपछि २०७७ साल भदौमा सहयात्री समाज नेपालको अध्यक्षमा निर्वाचित भई काम गर्दै आइरहेकी छु ।सहयात्री समाज नेपालले हिंसा प्रभावित महिलाको लागि सुरक्षित आवास गृह पनि चलाउँदै आइरहेको छ । निषेधाज्ञा भए पनि आवास गृह भएकोले अफिस खोल्नै पर्ने हुन्छ ।

बन्दाबन्दीको समयमा महिला हिंसाका घटनाहरु झन् बढ्ने भएकाले आवास गृहको भुमिका झन् महत्वपुर्ण हुनेरहेछ । अहिले पनि हाम्रो आवास गृहमा ५ जना किशोरी र ९ जना महिलाहरु हुनुहुन्छ । 

मेरो अहिलेको दैनिकी अफिसको यस्तै काममा बित्ने गरेको छ । पहिले जस्तो कार्यक्षेत्रमा गएर भेटघाट गर्ने तालिम तथा कार्यक्रमहरु गर्ने अवस्था भने अझै छैन ।हुन त कोरोना महामारीको केही राम्रा पक्ष पनि छन् । पहिलाको तुलनामा अहिले मैले मेरो छोराछोरीसँग बढी समय बिताउन पाएकी छु । यस महामारीले परिस्थिति सधैँ एकैनासको हुँदैन हरेक परिस्थितिको सामना गर्ने हिम्मत राख्नुपर्छ भन्ने सिकाइ भएको छ ।