CovidSuchana

साबुनको सहि प्रयोग गर्न पनि जानियो – जयकुमारी शाही, जाजरकोट

मेरो घर जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ५ एैराडी भन्ने गाँउमा हो । म अहिले जाजरकोटकै खारामा सानो होटेल गरेर बसेकी छु । उमेरले त म अहिले ६३ वर्ष भइसके । तरपनि, सानो आफुले सक्ने जतिको साँझ बिहान छाक टार्ने होटेल गरेर बसेकी छु । कोरोनाको महामारीले गर्दा धेरै लामो समयसम्म होटेल बन्द गरेर बस्नुपर्यो । अहिले भने फाट्टफुट्ट मान्छे आउन थालेका छन् ।
मेरो छोरा छोरी छैन्न् । बुढा गाउँमा हुनुहुन्छ । यहाँ एक्लै बस्छु । त्यसैले मेरो जिवनमा लक डाउन त पहिले नै आइसकेको थियो । अब दोस्रो लकडाउन महामारी रोग आयो र सरकारले लगायो । म त लकडाउन नभए पनि एक्लै थिए । भएपनि एक्लै छु । फरक यति हो कि लकडाउन नभएको भए ग्राहकको सेवा गर्न पाउँथे उनीहरुको भोको पेट भरिन्थ्यो । मेरो जीवनको गुजारा हुन्थ्यो । दोहोरो सेवा हुन्थ्यो ।
“धेरै दुख नगरुम् सानो होटेल व्यवसाय गरेर जिवनको गुजारा गरम् म अब बुढी भए काम गर्न पनि सक्दैन” भन्दा बुढाले गाउँको घर छोडेर आउन नमान्ने । गाउँमा बस्ने हो भने गाई भैसी पाल्ने खेती लगाउने काम गर्नुपर्छ । मैले त त्यो काम गर्ने नसक्ने भए । त्यसैले म खारामा आएर एक्लै भएपनि होटेल गर्न थालेको हुँ ।
यो लकडाउन भन्ने त अचम्मको हुँदो रहेछ माइततिर भेटघाट गर्न जाम भने पनि नपाइने । वरपर छरछिमेकी सँग बस्न जान पनि नमिल्ने । यो महामारीले गर्दा कतै जान मिल्दैन । मान्छे ,नाता आफ्नो भए पनि रोग आफ्नो हँुदो रहेनछ । आफ्ना आफन्त नातेदार इष्ट मित्र आए पनि भित्र लुक्नु पर्ने अवस्था आयो । यति बेलाको यो समय नै यस्तै छ भनेर बुझ्ने मान्छे लाई त ठिकै हो । नबुझ्ने हो भने आफ्ना मान्छे बीच “तिता पिरी” गराउने । मनमा फाटो ल्याउने रोग आयो । धेरै गाह्रो भयो ।
म धेरै भिंडभाड हुने ठाउँमा गएको छैन । घरबाहिर जानुपरेमा मास्क लगाउँछु । बेला बेलामा साबुनपानीले हात धुन्छु । यस्तै गरेर आजसम्म केही भएको छैन अब त यो रोग लाग्ला भनेर डर पनि मानेकी छैन । महामारी लागेर कति लाखौ मान्छेको ज्यान गयो भनेर रेडियोमा सुनेर मन दुख्छ । मेरा आँखाले यस्तो देख्न नपरोस भगवान भन्दै प्रार्थना गरेको छु ।

यो महामारीले पनि धेरै कुराको फाइदा र सिकाई पनि भएको छ । पहिले साबुनको प्रयोग कपडा र शरिरको “महेल” फाल्नको लागि मात्रै होला भन्ने लाग्थ्यो । साबुनले किटाणु मार्छ भन्ने कुरा पनि अहिले थाहा भयो । कति कति बेला कसरी हात धुनु पर्छ भन्ने पनि थाहा थिएन ।

यो महामारीले पनि धेरै कुराको फाइदा र सिकाई पनि भएको छ । पहिले साबुनको प्रयोग कपडा र शरिरको “महेल” फाल्नको लागि मात्रै होला भन्ने लाग्थ्यो । साबुनले किटाणु मार्छ भन्ने कुरा पनि अहिले थाहा भयो । कति कति बेला कसरी हात धुनु पर्छ भन्ने पनि थाहा थिएन । अहिले त २० सेकेण्ड सम्म मिचि मिचि हात धुन सिकियो । चर्पीको प्रयोग गरी आएपछि, खाना बनाउनु अगाडि , बच्चालाई खाना खुवाउनु अघि, खाना बनाउनु अगाडि, जिवजन्तु लाई छोएपछि साबुन पानीले २० सेकेण्ड सम्म मिचिमिति हात धोए पछि शरीरको मैला मात्र होइन रोग लाग्नबाट बाँचिदो रहेछ । मास्क लगाउन सिकियो । मास्कले पनि फाइदा गरेको छ । महामारीबाट पनि बचाउने अनि घरमा खाना पकाउदा खेरी आगोको धुवाबाट पनि बचिने करेसाबारीको काम गर्दा धुलोबाट पनि बचिने राम्रो लाग्यो ।
म त अब “एक्लो जोगी वृहस्पति, कोहि नाई मेरो साथी” भने जस्तै । गए पनि मरेर एक्लै जान्छु । यो महामारी छिटै भागोस् र अब कहिल्यै पनि फर्केर नआओस् भन्दै दुई हात जोडी बिन्ति गर्छु ।