CovidSuchana

बन्दको बेला जानेको सिकाएँ, नजानेको सिकेँ

अमृता तिवारी, रसुवा

मेरो नाम अमृता तिवारी हो । म उत्तरगया गाउँपालिका वडा नम्बर ५ माझगाउँमा बस्छु । म अहिले स्नातक तहमा अध्ययनरत छु । २०७६ साल मंसिरमा चीनमा कोरोनाभाइरस देखियो रे भन्ने सुनेको थिएँ । यति खतरनाक भाइरस होला भन्ने लागेको थिएन । तर अहिले यसले विश्वलाई नै त्रसित र पीडित बनाएको छ । हाम्रो देश नेपालमा पनि कोरोनाभाइरसको संक्रमण डरलाग्दो गरी नै देखियो ।
सबैलाई जस्तै यो कोरोनाभाइरसको कारणले मेरो दिनचर्यामा पनि नकारात्मक असर परिरहेको छ । तर पनि आफ्नो जीवनलाई अगाडि बढाइरहेको छु । लकडाउन र निषेधाज्ञामा अधिकांश समय घरमा नै बिताउनु परेको छ । त्यसैले यो समयमा मैले लेख लेख्ने, पुस्तक पढ्ने, आफूले जानेको कुराहरु अरुलाई सिकाउने र मैले नजानेका कुराहरु अरुबाट सिक्ने गर्दै समय बिताएको छु । यो महामारीबाट मलाई धेरै नयाँ कुरा ज्ञान र सिकाइ भएको छ ।
बन्दाबन्दीको समयमा आफ्नो परिवारसँगै बसेर गफ गर्दै बस्दा पनि रमाइलो नै लागिरहेको छ । रमाइलो गर्दै घरको काम पनि गरिरहेको छु । अहिले त संक्रमण अलि घटेकोले बाहिरतिर जानु पर्दा केही खुकुलो भएको छ । तर कलेज भने अझै खुलेको छैन । त्यसैले म खासै बाहिर जाने गरेको छैन । यदि कहिलेकाहीँ जाँदा सबै सुरक्षाका उपाय अपनाउने र भौतिक दुरी कायम गर्ने गरेको छु । बाहिरबाट आएपछि साबुन पानीले राम्रोसँग हात धुने गरेको छु । यस्तै सावधानी अपनाएमा कोरोनाको संक्रमणबाट बच्न सकिन्छ ।