मेरो नाम विनिता न्यौपाने हो । म अहिले काठमाण्डौँमा बस्छु । पेशाले म स्टाफ नर्स हुँ । हस्पिटल जाने बेला मास्क लगाउछु । बाटोमा कार्ड देखाउदा परैबाट बोल्ने गर्छु । जान आउन स्कुटर छ । तर पेट्रोल पाउन र हावा भर्न गाह्रो भईरहेको छ । साँझको ड्युटी गरेर घर फर्किंदा स्कुटर केहि भयो भने नजिकै बनाउने ठाउँ सबै बन्द छन् ।
मैले काम गर्ने हस्पिटलमा अहिलेसम्म कोरोनाको विरामी देखिएको छैन । अस्पतालमा पहिलेको भन्दा मास्क र स्यनिटाइजर कम छ । त्यसैले स्टाफहरुलाई पनि गाह्रो र डर महशुस भईरहेको छ । पसलमा किन्न जाँदा पनि छैन भन्छन । त्यसैले विरामीलाई छुने वित्तिकै साबुन पानीले राम्रोसंग हात धुने गरिरहेका छौं । विरामी नजिक जाने बेला मास्क र पञ्जा लगाउँछु । आफ्नो र परिवारको सुरक्षाका लागी घर आउने वित्तिकै लुगा धोएर र नुहाएर मात्र कोठामा छिर्छु । घरका अरुलाई पनि सर्छकि भनेर डर हुन्छ । ईम्युनिटी पावर बढाउन अदुवा, तातो पानी, बेसार, तुलसी तथा अन्य खानेकुरा खाने गरेको छु ।
सधै हस्पिटल जाँदा बाटोमा पोलुसन हुन्थ्यो रुघाखोकी लागि रहन्थ्यो तर अहिले बाटो सफा छ । वातावरण पनि स्वच्छ छ । तर घरायसी र व्यक्तिगत सामान किन्न अलि गाह्रो भको छ । घरमा बसेको बेला किताबहरु पढ्छु । ड्युटी नहुँदा दिन कटाउन चाहिं अलि गाह्रो भएको छ ।
संसारभर धेरै मान्छेहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । धेरैको ज्यान गएको छ । हाम्रो देशमा पनि यसको संक्रमण देखिइसकेको छ ।
औषधि पत्ता लागि नसकेकाले कोरोना भाइरसलाई एकदम सिरियस रोगका रुपमा लिईएको छ । अनि यो महामारी भएर फैलिरहेको छ ।
घर परिवारको चाहना म काममा नगए हुन्थ्यो भन्ने छ । अरु मान्छे भन्दा हामी मेडिकल फिल्डमा काम गर्नेहरुको जीवन अलि फरक छ । लकडाउनका बेला अरु घरमै बसे पनि हुन्छ । तर हामी आफ्नो काममा गएनौँ भने विरामीको हेरचाह कसले गर्छ । स्वास्थ्यकर्मीको जिम्मेवारी यस्तो बेलामा झन धेरै हुन्छ भनेर घरमा सम्झाउँछु । हामीले धेरै जोखिमका साथ आफ्नो जिम्मेवारी निभाइरहेका छौं । संक्रमण बढ्न थाल्यो भने हामी स्वाथ्यकर्मीहरुलाई पनि धेरै गाह्रो हुन्छ कि जस्तो लाग्छ ।
#COVID19 #Lockdowndiaries #HerStory #Nepal #कथाकाेराेना #KathaCorona #Frontliners #Healthworkers