मेरो नाम दुर्गा बञ्जाडे । म जुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनुअघि सिन्धुपाल्चोकमा सहायक सिडिओ भएर काम गरेँ । भूईंचालोपछि सिन्धुपाल्चोक पुग्दा घरहरुको पुननिर्माण भइरहेको थियो । कतिपय जिल्लावासीहरुलाई घर बाहिरै व्यवस्थापन गर्नुपर्ने थियो भने कतिपय बस्तीलाई नै ठाउँ सार्नुपर्ने चुनौती थियो । अहिले कोरोनाको संक्रमणबाट जुम्ला जिल्लाबासीलाई घरभित्रै कसरी सुरक्षित राख्ने भन्ने सबैभन्दा ठूलो चुनौती हो ।
अन्य देशको अनुभव हेर्दा शुरुको चरणमा “लकडाउन” नै यस संक्रमणलाई नियन्त्रण गर्ने मूल ओखती रहेछ । जिल्लामा सबैसँग समन्वय गरेर जुम्लामा चैत्र १० गतेदेखि नै लकडाउन शुरु गर्यौं
अनि जिल्लावासीलाई यो महामारीबारे बुझाउन थाल्यौं । लकडाउन पूर्ण रुपमा कार्यान्वयन गराउने, दैनिक उपभोग्य सामग्रीको पहुँच सहज बनाउने र विशेष अवस्थाका अपाङ्ग, वृद्धवृद्धा, गर्भवती र सुत्केरीहरुलाई सेवा पुर्याउनुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ ।
प्रमुख जिल्ला अधिकारीले एउटा प्रशासक मात्रै भएर हेरेर पुग्दैन । नागरिक भएर पनि सोच्नुपर्छ । खाध्य सामग्रीका लागि चन्दननाथ नगरपालिका बाहेक अन्य पालिकाका वासिन्दाहरु खलङ्गा आउनु नपरोस भनेर उद्योग वाणिज्य संघ, कृषि विकास कार्यालय र अन्य निकायसंगको सहकार्यमा खाद्य सामग्री प्रत्येक पालिकामा पुर्याउने र वडा कार्यालयले घरसम्म पुर्याउने एकद्वार प्रणाली अपनाएका छौँ । प्रत्येक पालिकाले अस्पताल नै आउनुपर्ने गर्भवती, सुत्केरी र अन्य रोगीका लागि भएमा एम्बुलेन्स नभए निजी साधनको व्यवस्था गरेका छन् । सबै चालकको नम्बर सार्वजनिक रुपमै सुचना दिएका छौं ।
कोरोनाको संक्रमणका बारेमा समाजमा धेरै अन्धविश्वास र भ्रमहरु छन् । यिनलाई चिर्न स्थानिय सरकार, स्थानिय संचारकर्मी, सुरक्षा तथा स्वास्थ्यकर्मी र युवावर्ग सबै लागेका छौं ।
चैत्र ११ गते पछि भारत लगायत तेश्रो मुलुकबाट जिल्ला फर्केका २५३ जनाको विवरण स्थानीय तहबाट प्राप्त भएपछि क्वारेन्टाइनमा बसाउने व्यवस्था सबैको सहकार्यमा सम्भव भयो । त्यसपछि नेपाल सरकारले सुरु गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाट खटिएका नेपाल प्रहरीको मेडिकल टीम र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टीम मिलेर २५३ जना सबै र उनीहरुको परिवार तथा सम्पर्कमा आएका अन्य गरी ३२४ जनाको स्वाबको नमूना चैत्र २५ गते संकलन गर्यौं । स्वाबको नमुना परिक्षणका लागि काठमाण्डौ पठाइएको छ । पहिले बनाइएका क्वारेन्टाइन केन्द्रहरुलाई महिला, वृद्धवृद्धा र अपांग मैत्री बनाउनका लागि अहिले प्रयास गरिरहेका छौं ।
यस्तो विपदको बेला सबै तहका सरकार र प्रशासनसँग नागरिकको धेरै अपेक्षा हुन्छ । कठिन भूसंरचना, सीमित सुरक्षाकर्मी, छरिएको बस्ती, बेलाबेलामा अवरुद्ध हुने संचार, स्वास्थ्यकर्मीलाई चाहिने न्यूनतम स्वास्थ्य सामग्रीको अभावले गर्दा काम गर्न कठिनाई छ । तर पनि हामी अहिलेसम्म ट्रेसिङ्ग र टेस्टिङ्गका लागि समन्वय गर्दै यो संकटबाट पार पाउन हरसम्भव प्रयास गरिरहेका छौं ।
विहानदेखि साँझसम्म हरेक दिन संयोजन र व्यवस्थापनका लागि दौडधुप गरिरहँदा कहिलेकाहिं परिवार पनि बिर्सिदों रहेछ । राती भएपछि एक्कासी काठमाण्डौंमा रहेको छोरालाई सम्झछु । फोन गर्न खोज्छु निदाइसकेको हुन्छ । अनि मेसेज लेखेर भन्छु “बाबु आफ्नो स्वास्थ्यको ख्याल गर है ।”